खेलकुद

यस्तो बन्दै छ चितवनमा धुर्मुसले बनाउन लागेको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ (तस्विर सहित)

भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर)को खाका तयार भएको छ । सो खाकामा थपघटका लागि सुझाव लिन आज यहाँ अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ ।

सो अवसरमा डिपिआर बनाउँदै गरेको क्रियटिभ डिजायन आर्किटेक्टस प्रालीले हाल तयार गरेको नमूना प्रस्तुत गरेको थियो । सो कम्पनीले कमलको फूलसँगै नेपालीपन झल्कने गरी आधुनिक तवरको रङ्गशालाको नमूना तयार गरेको छ ।

रङ्गशालाको प्रवेशद्वारमा गौतमबुद्धको शालिक निर्माण गरिनेछ । भित्री भागमा परम्परागत कलात्मक शैली झल्कने गरी रङ्गशाला निर्माणका लागि नक्साङ्कन गरिएको देखाइएको छ ।
२० विगाहा ६ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशाला ३० हजार जना अट्ने क्षमताको हुनेछ । पहिला २५ हजार दर्शक मात्र अट्ने बनाउने भनिएकोमा ५ हजार क्षमता थपेर डीपीआर तयार गरिएको हो । रंगशालामा दुई भीआईपी प्याराफिटसमेत रहनेछन् ।

‘क्रिकेट स्टेडियमसँगै फुटबल मैदान, स्वीमिङ पुल र कभर्ड हल पनि निर्माण गरिने छ । ती सबै संरचनाको डीपीआर तयार भएको छ ।’ फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले भने, ‘तर निर्माणको थालनी भने क्रिकेट स्टेडियमबाट हुनेछ ।’

क्रियटिभ डिजाइन आर्किटेक प्रा.लि.को नेतृत्वमा भारतीय र अमेरिकन कन्सल्टेन्सीको सहयोगमा डीपीआर तयार गरिएको हो । तिहारलगत्तै संरचना निर्माणको काम सुरु गर्ने र दुई वर्षभित्र सम्पन्न गर्ने योजना फाउन्डेशनले बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *